राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्याटेलाइट मैले ल्याएँ, जस ओलीले लिए : शेरबहादुर देउवा

काठमाडौं, २२ वैशाख। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा आफ्नो सरकारले गरेका सबै राम्रो कामको जस ओली सरकारले लिएको भन्दै दुखेसो गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले त्यस्ता कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत गरे। आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको भन्दै उनले भनेका छन्, ‘यो सरकारले आफैंले नेपाल अन्तरिक्ष युगमा पुगेको बकम्फुसे दाबी गरेको छ।’

५ वैशाखमा नेपालको आफ्नै नानो स्याटलाइट (सानो भू–उपग्रह) अमेरिकाबाट प्रक्षेपण गरिएको थियो। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण भएको र नेपाल पनि स्याटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको भन्दै खुसी व्यक्त गरेका थिए।

कांग्रेस सभापति देउवाले आफ्नो पालामा ल्याएको सामाजिक सुरक्षा ऐनलाई पनि आफैंले ल्याए जसरी प्रचार गरेको तर, कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाए। यस्तै भेरी बबई डाइभर्सन परियोजना कांग्रेस सरकारकै पालामा सुरु भएको तर, सरकारले आफैंले गरेको जस्तो गरी प्रस्तुत गरेको उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले संक्रमणकालको अन्त्य भएको सरकारको दाबीको खण्डन गरे। अहिले पनि हजारौं द्वन्द्व पीडितहरु न्याय र राहतको पर्खाइमा रहेको र हिंसात्मक द्वन्द्वका घटनाहरु नरोकिएको उनले बताए।

गत वर्ष ५ वर्षभित्र कोही पनि नेपाली विदेश जानुपर्दैन भनेको सरकारले यो वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्छु भनेको उल्लेख गर्दै देउवाले भने, ‘कति रोजगारी सिर्जना भयो र कति विदेशिन परेन भन्नेबारे मुलक अनविज्ञ छ।’ गत वर्ष तामझामका साथ सुरु गरिएको प्रधानमन्त्री रोजगार योजनाले अहिलेसम्म एउटा पनि रोजगारी सिर्जना गर्न नसकेको उनले बताए।

देउवाले छिमेकी देशहरुसँग रेल, सडक र हवाइमार्गबाट जोड्नुपर्ने तर, लहडमा नभई प्राथमिकता र प्रतिफलका आधारमा आयोजना छनोट गर्नुपर्ने बताए। उनले भने, ‘चीन र भारत जोड्ने रेलमार्ग दुवै देशका लागि पनि महत्वपूर्ण आयोजना भएकाले यिनीहरुको निर्माण अनुदानमा मात्र हुनुपर्छ।’

भारतमा प्रस्तावित १११ प्रमुख जलमार्गहरु मध्ये एउटामा जोडिन पनि अझै धरै गृहकार्य गर्न बाँकी रहेको भन्दै उनले भने, प्रधानमन्त्रीज्यू, अहिले नै पानी जहाज आइसकेझै कार्यालय खोलेर सपना बेच्दै हुनुहुन्छ। राणाकालदेखि चलेको रेल र स्टिमरलाई नयाँ आविष्कारका रुपमा प्रचारित गरिएको छ।’