राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

फेरि झुक्यो सरकार चिनी उद्योगीसँग, तीन महिनाआयात नहुने

काठमाडौं १६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते चिनी उद्योगीहरुले आफूलाई भुलभुलैयामा पारेर चिनी आयात नियन्त्रण गर्न प्रेरित गरेको बताएका थिए । तर, त्यसको एक सातापछि नै सरकारले तिनै उद्योगीहरुको हितमा निर्णय लिएको भेटिएको छ ।

सरकारले चिनीको आयातमाथि लगाएको परिमाणात्मक बन्देजको अवधि ३ महिना थपेको छ । गत भदौबाट चैतसम्म लगाइएको बन्देजलाई असार मसान्तसम्म विस्तार गरिएको हो ।

सरकारले एक वर्षमा एक लाख मेट्रिक टन मात्र चिनी मात्रै विदेशबाट आयात गर्न सकिने गरी वैशाखसम्मका लागि बन्देज लगाएको थियो । आयातको सस्तो चिनीले स्वदेशी उद्योगी मर्कामा परेको भन्दै सरकारले सो कदम चालेको थियो ।

वैशाख २ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकालेको राजपत्र अनुसार निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी परिमाणात्मक बन्देजको अवधीलाई थप तीन महिना निरन्तरता दिने निर्णय भएको छ ।

मन्त्रिपरिषदबाटै बन्देज अवधि बढाउने निर्णय भएको आपूर्ति मन्त्रालय स्रोतले बतायो । चिनी उद्योगीको दवावमा यो निर्णय लिइएको मन्त्रालयका अधिकारीहरु अनौपचारिक रुपमा स्वीकार्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते नेपाल उद्योग परिसंघको बैठकमा चिनी ब्यापारीहरुले आफूलाई गलत तथ्य सुनाएर गलत निर्णय गर्न लगाएको बताएका थिए ।

‘अर्को साल पनि हामी चिनी किन्न नसक्ने भयौं । यति धेरै चिनी पाकिस्तानबाट आयो कि अर्को वर्षका लागि स्टक रहने भयो । चिनी आयात रोकिदिनुप¥यो भनियो’, प्रधानमन्त्रीले त्यतिबेला भनेका थिए, ‘होला भनेर रोकिदिएको, भोलिपल्टदेखि बजारमा चिनी छैन ।’

उनले आयातमा अंकुश लगाएपछि चिनीको मूल्य बढाएर १०५ रुपैयाँ पुर्‍याइएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले यो व्यापार नभएको भन्दै उद्योगीहरुलाई ठगी क्रियाकलाप बन्द गर्न चेतावनीसमेत दिएका थिए ।