राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

एकदिवसीय क्रिकेट जेठ १ बाट, क्याच समात्ने दर्शकलाई ५० हजार

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा आगामी जेठ १ गतेबाट प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीहरुको सहभागिता रहनेछ। कीर्तिपुर क्रिकेट मैदानमा हुने प्रतियोगिताका टोलीलाई दुई समयमा विभाजन गरि खेलाइने व्यवस्थापक नेपालय इन्टरनेशनलका अध्यक्ष सुवास प्रधानले बताए।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ। यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ।

प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर क्याच समाप्ने दर्शकले ५० हजार पाउँने प्रधानले बताए। त्यस्तै दर्शकका लागि गर्मी छल्न छहरा तथा निशुल्क पानीको व्यवस्था गरिने उनले बताए।
१ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेपले उपलब्ध गराउँनेछ। त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ।

प्रतियोगिता सञ्चालन सम्बिन्धि राखेप र नेपालयबीच आइतबार नै सम्झौता समेत भएको छ। सम्झौता कार्यक्रममा मन्तव्य राख्दै राखेपका सदस्यसचिब केशब विष्टले नीति क्षेत्रलाई क्रिकेट प्रति आकर्षित गराउँने उदेश्यले प्रतियोगिता व्यवस्थापनको जिम्मा नेपालयलाई दिएको बताए।

‘विगतमा नेपालयले गरेको व्यवस्थापनबाट सन्तुष्ट भएर नै हामीले यसवर्ष पनि उहाँहरुलाई प्रतियोगिता व्यवस्थापनको जिम्मा दिएका हौं,’ सदस्यसचिव विष्टले भने, ‘यसवर्ष उहाँहरुले थप परिमार्जित र परिस्कृत ढंगले प्रतियोगिता आयोजना गर्दै आफूहरुलाई प्रस्तुत गर्नुुहुनेछ भन्ने विश्वास लिएका छौं।’

यो प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले आयोजना गरेपनि दोस्रो संस्करण नेपालयले आयोजना गरेको हो। आफूहरुले विभिन्न फर्मसँग प्रस्ताव आह्वान गर्ने र जसको उत्कृष्ट लाग्यो उसैलाई व्यवस्थापनको जिम्मा दिने राखेप सदस्यसचिव विष्टले बताए।

सम्झौतामा नेपालयले प्रायोजकहरुबाट ९३ लाख भन्दा बढी रकम उठाउँन नपाइने उल्लेख गरेको छ। १ करोड ७५ लाख बजेटको प्रतियोगिताका लागि उक्त रकममात्रै उठाएर प्रतियोगिता सम्पन्न गर्न हम्मेहम्मे पर्ने भएपनि आफूहरुले नेपाली क्रिकेटका लागि रिस्क लिएको नेपालयका अध्यक्ष प्रधानले वताए।

‘एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाइसकेपछि नेपालको अबको लक्ष्य भनेको टेस्ट मान्यता पाउँनु हो,’ त्यसका लागि हामीले जतिसक्दो बढी लामो फम्र्याटका खेलहरु खेल्नुपर्ने हुन्छ। व्यवसायिक टि–२० खेलहरुमात्र भइरहेको अवस्थामा हामीले रिस्क मोलेरै भएपनि देशका लागि यो प्रतियोगिता गर्न अघि आएका हौं।’