महिलामा हुनेमध्ये स्तन क्यान्सर दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । पाठेघरको मुखको क्यान्सर महिलामा सबैभन्दा बढी पाइने गरेको छ । तर, वर्तमान अवस्थामा जुन तीव्रताका साथ स्तन क्यान्सर वृद्धि भइरहेको छ, त्यसले निकट भविष्यमै स्तन क्यान्सर पहिलो स्थानमा पुग्ने प्रबल सम्भावनालाई इंगित गर्छ । स्तन क्यान्सर अहिले पहिलो अनुसन्धानको विषय बनिरहेको छ । यो क्यान्सर महिलामा मात्र नभएर पुरुष पनि हुन सक्छ ।
कसलाई बढी हुन्छ ?
– प्रौढ महिलामा
नेपालमा सबैभन्दा बढी स्तन क्यान्सर ३०–३५ वर्षका महिलामा बढी पाइएको छ ।
– पारिवारिक स्तन क्यान्सर
आमा, सानीआमा, दिदी, बहिनी, आमापट्टिकी हजुरआमा वा छोरीहरूलाई स्तन क्यान्सर भएको छ भने आफूलाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
– ढिलो महिनावारी सुरु भएको तथा चाँडै नै महिनावारी सुकेका महिलामा ।
– विवाह भएका तर बच्चा नपाएका महिलामा ।
– पहिलो बच्चा ढिलो जन्माएका महिलामा, विशेषगरी ३५ वर्षभन्दा पछि बच्चा जन्माएका महिलामा ।
– बच्चा नजन्माएका महिलामा ।
– स्तनपान नगराउने महिलामा ।
– १० वर्षभन्दा बढी समयसम्म परिवारनियोजनको चक्की तथा विभिन्न हर्माेनको उपयोग गर्ने महिलामा ।
– अनावश्यक विकिरण, एक्स रेको प्रयोग धेरै गरेका महिलामा ।
– रक्सी तथा चुरोटको सेवन तथा अत्यधिक बोसो भएका खाद्य पदार्थको सेवन गर्ने महिलामा ।
लक्षण
क) स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
ख) दुवै स्तन समान नभई आकार र बनोटमा फरक देखापर्नु ।
ग) स्तन सुन्निएर कडा भई दुख्न थाल्नु ।
घ) स्तनको मुन्टाबाट रगत अथवा फोहोर पदार्थ आउनु ।
ङ) स्तनको मुन्टा सीधा बाहिरपट्टि नफर्की दायाँ–बायाँ वा घुमेर भित्रपट्टि फर्कनु ।
च) स्तनको छालाको रङ तथा नरमपनामा केही परिवर्तन देखापर्नु ।
छ) स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखापर्नु ।
ज) ढिलो भएको खण्डमा स्तनमा साना–तिना दानाहरू देखापरेपछि घाउ बन्न जानु ।
कसरी पत्ता लगाउने ?
– आफ्नो स्तन आफैँ जाँचेर (ब्रेस्ट सेल्फ एक्जामिनेसन) ।
– चिकित्सकद्वारा जाँच गराएर ।
– मेमोग्राम ।
– अल्ट्रासाउन्ड वा भिडियो एक्स रे ।
– बायोप्सी वा एफएनएसी ।
अ. आफ्नो स्तन आफैँ जाँच्ने तरिका–
सुरुमा उपचार गरे अरू क्यान्सरसरह स्तन क्यान्सर पनि निको हुन सक्छ, तर त्यसका लागि सुरुको अवस्थामा फेला पार्नु जरुरी छ । प्रत्येक महिलाले स्वयम् घरमै बसेर सरल तरिकाले आफ्नो स्तनको जाँच गर्न सक्छन् । यसलाई ‘ब्रेस्ट सेल्फ एक्जामिनेसन’ भनिन्छ ।
कसले र कहिले गर्ने ?
२० वर्षमाथिका प्रत्येक महिलाले यो जाँच गर्नुपर्छ ।
महिनावारी नियमित भइराखेका महिलाले महिनावारी सुरु भएको ७ देखि १० दिनभित्र जाँच गर्नुपर्छ । किनभने नछुने भएका वेला स्तन अलिक सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ, जसका कारण स्तनमा भएको केही परिवर्तन थाहा पाउन मुस्किल हुन्छ ।
अनियमित महिनावारी वा महिनावारी बन्द भइसकेका महिला तथा कहिलेकाहीँ महिनावारी छुट्ने महिलाले प्रत्येक महिनाको निश्चित एक दिन तोकेर उही दिन यो जाँच गर्नुपर्छ । जस्तै, हरेक महिनाको १५ गते, वैशाख १५, जेठ १५, असार १५, … ।
कसरी गर्ने ?
यो जाँच कपडा फेर्दा वा नुहाउँदा पनि सहजै गर्न सकिन्छ ।
ऐनाअगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न सकिन्छ ।
स्तनलाई छाम्दा हातका औँलामध्ये बीचका ३ वटा औँलाको माथिल्लो एकतिहाइ भागको प्रयोग गर्नुपर्छ । दाहिने हातले देब्रे स्तन तथा देब्रे हातले दाहिने स्तनको जाँच गर्नुपर्छ । जाँच्नेक्रममा चित्रमा देखाइएअनुसार स्तनको ५ वटै भागको क्रमबद्ध जाँच गर्नुपर्छ ।
१. ऐनाअगाडि उभिएर
क) ऐनाअगाडि उभिएर आफ्ना दुवै स्तनलाई हेर्ने । दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनको फरक तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानपूर्वक हेर्ने ।
ख) दुवै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐनाअगाडि उभिएर हेर्ने ।
ग) दुवै हातले कम्मरमा हल्का थिचेर ऐनाअगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रस्ट भएर आउन सक्छन् ।
२) सुतेर
क) देब्रे काखीमुनि एउटा तकिया राख्ने र देब्रे हात टाउकोपछाडि राखेर सुत्ने । दाहिने हातको बीचमा तीनवटा औँलाको माथिल्लो एकतिहाइ भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्नेक्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रूपमा स्तनका सबै भागको जाँच गर्ने ।
ख) दाहिने काखीमुनि तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रियाअनुसार जाँच गर्ने, अन्तमा स्तनको मुन्टोलाई पालैपालो बूढीऔँला र चोरऔँलाको बीचमा राखेर निचोर्ने । स्तनको मुन्टोबाट केही आउँछ कि आउँदैन, हेर्ने ।
ग) स्तनका ५ भागमध्ये प्रत्येक भागको क्रमबद्ध छामेर जाँच गर्ने ।
३) नुहाउँदा
नुहाउँदा पनि सरलताका साथ यो जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न झन् सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध जाँच गर्ने ।आ. चिकित्सकद्वारा जाँच गराउने
यसरी जाँच्नेक्रममा शंका लागेमा तुरुन्तै चिकित्सकसँग सम्पर्क राख्ने ।
इ. मेमोग्राम
कहिलेकाहीँ हातले छाम्दा नभेटिने मसिना गाँठागुठी फेला पार्न यो जाँच गरिन्छ । यो जाँच डाक्टरको सल्लाह लिएर मात्र गर्नुपर्छ ।
ई. अल्ट्रासाउन्ड वा भिडियो एक्स रे
३५ वर्षभन्दा कम उमेरका महिलालाई मेमोग्रामभन्दा यो जाँच बढी उपयोगी हुन्छ ।
उ. बायोप्सी वा एफएनएसी
क्यान्सर पत्ता लगाउन शरीरको शंका लागेको भागको कोषिका वा तरल पदार्थ निकालेर त्यसको जाँच गर्ने विधिलाई बायोप्सी वा एफएनएसी भनिन्छ ।
उपचार विधि
स्तन क्यान्सर निको पार्न शल्यक्रिया गरी किमोथेरापी र आवश्यकताअनुसार रेडियोथेरापी तथा हर्माेनल थेरापीको प्रयोग गर्नुपर्छ ।