राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्वास्थ्य चौकीमा औषधि अभाव

सिमकोट, मङ्सिर २४ गते । हुम्लाको दक्षिणी भेगका स्वाथ्य चौकीहरूमा औषधीहरुको चरम अभाब देखिएको छ । आर्थिक बर्ष सुरु भएको पाँच महिना बित्नै लाग्दा पनि स्थानीय सरकार तथा केन्द्रबाट उपलब्ध हुने औषधि स्वास्थ्य चौकीहरूमा उपलब्ध नभएपछि यतिखेर ती स्वास्थ्य चौकीहरू औषधिविहीन भएका छन् ।
दम तथा रुघाखोकीबाट ग्रस्त सर्केगार्ड गाउँपालिका वडा नम्बर २ की लाली महतारा सामुदायिक स्वास्थ्य इकाई रिपमा जाँदा स्वास्थ्यकर्मीले औषधि नभएको भनेर जवाफ दिएपछि निराश भएर फर्किएको बताउनुभयो । सामान्य सिटामोलसमेत स्वास्थ्य चौकीमा नपाइने जवाफ पाएको उहाँले बताउनुुभयो । उहाँ स्वास्थ्य चौकीमा औषधि नपाएपछि पाँच दिनदेखि घरमै थला पर्नुभएको छ ।
स्वास्थ्य चौकीमा एण्टिवायोटिक बाहेक अन्य औषधि नभएको इकाई प्रमुख सुर्दशन मल्लले बताउनुुभयो । ‘स्वास्थ्यकर्मी छन्, तर औषधी छैन । दैनिक १० देखि १५ जना बिरामी आउँछन् । रित्तो हात फर्काउनु परेको छ,’ उहाँले बताउनुुभयो ।
औषधी राख्ने दराज देखाउँदै प्रमुख मल्लले गाउँपालिका र जिल्लाबाट आउनु पर्ने औषधि नभएको कारण यस्तो अबस्था सिर्जना भएको बताउनुुभयो । उहाँले मौसमी रोगको मौसम भएको कारण जतिखेर पनि बिरामीको चाप बढ्न सक्ने भए पनि जिम्मेबार निकायहरूले सुने को नसुन्यै गरेको गुनासो गर्नुभयो ।
शिक्षा र स्वास्थ्यलाई पालिकाले हेर्ने निर्णय गाउँकार्यपालिकाले गरेपछि वडाबाट बजेट नछुट्याएको वडा अध्यक्ष बिषे महताराले बताउनुुभयो ।
त्यसै गरी सोही गाउँपालिकाको वडा नम्बर ७ रोडिकोट स्वास्थ्य चौकीमा पनि औषधी नभएको एक महिना पुग्नै लागेकोले छ । महिला वडा सदस्य कोपिला कार्कीले औषधि नपाएर विरामीहरु रित्तो हात घर फर्कनु परेको बताउनुभयो ।
‘बरबाद भयो । औषधीको टुक्रा पनि छैन । बिरामी स्वास्थ्य चौकीमा जाने गरे पनि खाली पर्कन्छ,’ उहाँले भन्नुभयो । हाल दैनिक १५ देखि २० जना बिरामी आए पनि खाली फर्काउनु परेको स्वास्थ्य चौकीकी अनमी प्रेरणा मल्लले बताउनुुभयो ।
असोजमा केही औषधि गाउँपालिकाको स्वास्थ्य शाखाबाट प्राप्त भएको भए पनि ती औषधी सकिएकोले अहिले चौकी कुर्ने काममात्र भएको उहाँले बताउनुुभयो । ‘गाउँपालिकाको स्वास्थ्य शाखाका खवर गर्दा औषधि आएपछि खबर गरौला भन्ने मात्र खवर आउँछ, तर औषधि कहिल्यै आउँदैन । कार्यालय खोल्नै पनि लाज लाग्ने भै सक्यो, ’उहाँले बताउनुुभयो ।
बर्थिङ्ग सेन्टरबाट ४२ प्रकारका औषधी सेवाग्राहीहरुलाई निशुल्क रुपमा दिनुपर्ने भए पनि हाल औषधीको अभाब रहेको छ । जिल्ला अस्पतालका चिकित्सक डा. टसी लामाले क्षेत्रीय मेडिकल स्टोरले दिनुपर्ने औषधी जिल्लामा नआएको कारण यो समस्या सिर्जना भएको बताउनुुभयो ।
साउनदेखि स्टोरबाट औषधी आएको छैन । अस्पताल आफ्नै पहलमा औषधि ल्याए पनि त्यो जिल्ला अस्पतालकै लागि ठिक्क भएकोले स्वास्थ्य चौकीमा पठाउन नसकिएको उहाँले बताउनुुभयो ।