काठमाण्डौं, १९ साउन । जिल्ला अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको पाईएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ ।
फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताउनुभयो । एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उहाँले जानकारी दिनुभयो । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने बताइएको छ । यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उहाँले आग्रह गर्नुभयो ।