काठमाडौं ३ बैशाख। बाँके नेपालगञ्ज भेरी अस्पतालमा ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन भएको छ । आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।