काठमाण्डौ ११ चैत । नेपालमा कोरोना संक्रमणका कारण लकडाउन भएको आज ठिक एक वर्ष पुरा भएको छ । गत वर्ष चैत ११ गतेदेखि सरकारले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । टकपटक गरी चार महिनासम्म लकडाउन भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो ।
तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ । कोरोनाको जोखिम फेरि बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो ।
त्यसैगरी भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने खतरा रहेको डाक्टरले बताउँदै आएका छन् । घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ । भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन र क्वरेण्टीनलाई तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ ।