तुलसीपुर ५ चैत ।
दाङमा उत्पादन भएको आलुले उचित मुल्य तथा बजार नपाउदा किसान मारमा परेका छन् । बबई गाउँपालिका ७ झारगजेरीमा करिब १० बिगाहा क्षेत्रफलमा लगाइएको आलुले उचित मुल्य तथा बजार नपाउदा किसान मारमा परेका हुन् । बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावट तथा भौगोलिक विकटका कारण यहाँका किसान मारमा परेका हुन् । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बारीमै कुहिन थालेका छन् ।
किसानले उत्पादन गरेका आलु,बन्दा,काउली,लौका,करेला,बोडि लगाएतका तरकारी उचित मुल्य तथा बजार नपाएकाले किसानलाई समस्या हुनेगरेको जानकारी दिएका छन् । तरकारी बेच्नलाई हापुरे बजार नजिक परेपनि भारतीय तरकारी आउने भएका कारण आफ्नो तरकारी खासै बिक्रि नहुने र उचित मुल्य पनि नपाएको कृषक रेशमलाल चौधरीले बताए ।“भारतीय तरकारीका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उनले भने,’उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ । स्थानीय स्ततरमा उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले पनि स्थानीय आलुले बजार पाउन सकेको छैन ।
“पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ”, अर्का महिला किसान कालीमैया चौधरीले भन्नुभयो, यो वर्ष पनि आलुको उचित मुल्य नभएर घर खर्च चलाउनै गाह्रो भएको छ । बजार मूल्य राम्रो नभपछि किसानले खेतबारीमै आलु थुप्रो लगाएर राखेका छन्। ब्यवस्थित तरकारी बजार नहुँदा यहाँका किसान थप मारमा परेका छन् ।